मुख्य न्यायाधिवक्ताको कार्यालय

कोशी प्रदेश, विराटनगर

महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा United Nations Asia and Far East Institute of Crime Prevention and Treatment of Offenders (UNAFEI)का प्रतिनिधिमण्डलसँग पूर्वसुनुवाइ छलफल, प्यारोल तथा प्रोवेसन र सानातिना मुद्दा नचलाउने जस्ता नविनतम् कानूनी व्यवस्थाका सम्बन्धमा दुइ देशका कानूनी व्यवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०७५ पौष ३ गते आइतवार एक दिवसीय अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको समुपस्थितिमा सञ्चालित उक्त छलफलमा नेपालको मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मा भएको व्यवस्थाहरू र जापानको फौजदारी कार्यविधि तथा सजाय निर्धारण सम्बन्धी कानूनमा भएका व्यवस्थाहरूका बारेमा तुलनात्मक समीक्षा गरिएको थियो ।

उक्त अवसरमा माननीय महान्यायाधिवक्ता खरेलले छलफलका विषयहरू नेपालका सन्दर्भमा नयाँ भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जापान र नेपालको कानूनी व्यवस्थाको तुलनात्मक समीक्षाले सहयोग पुर्‍याउने बताउनुभयो ।

UNAFEI प्रतिनिधिमण्डलका प्रमुख प्राध्यापक Nozomu Hirano ले वादी प्रतिवादीबीचको छलफलका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल र जापानको कानूनी व्यवस्थाको तुलनात्मक समीक्षा आयोजना गरेकोमा महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त अवसरमा सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले पूर्वसुनुवाइ छलफल, प्यारोल तथा प्रोवेसन र सानातिना मुद्दा नचलाउने जस्ता नविनतम् कानूनी व्यवस्थाका सम्बन्धमा नेपालको नयाँ फौजदारी कार्यविधि संहिताका चुनौती सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै UNAFEIका प्राध्यापक Hiroyuki Watanabe ले प्यारोल र प्रोवेसन सम्बन्धमा र प्राध्यापक Junichiro Otani ले सानातिना मुद्दा नचलाउने सम्बन्धमा जापानको कानूनी व्यवस्था र अभ्यास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालय र UNAFEI बीच विगत वर्षहरूदेखि कर्मचारीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

facebook

सम्पर्क

मुख्य न्यायाधिवक्ताको कार्यालय
प्रदेश नम्बर १,बिराटनगर, मोरंग
chiefattorney.province1@gmail.com
फोन: ०२१-५७०९०७,५७०६२८